व्यापार युद्ध कम गर्ने तयारी : अमेरिका र चीनबीच वार्ता हुँदै


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
2.1K
SHARES

२४ वैशाख काठमाडौं । अमेरिका र चीनका अधिकारीहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध कम गर्न यसै सातादेखि स्विजरल्यान्डमा वार्ता सुरु गर्ने तयारी गरेका छन् ।चीनका उपप्रधानमन्त्री हे लिफेङले मे ९–१२ सम्म स्विजरल्यान्डमा हुने वार्तामा सहभागिता जनाउने चीनको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले वासिङटनको प्रतिनिधित्व गर्नेछन् ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा १४५ प्रतिशतसम्मको नयाँ आयात शुल्क लगाएका छन् । यसको प्रतिकारमा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाएको छ ।चीनका उपराष्ट्रपति हान झेङले जनवरीमा ट्रम्पको शपथ ग्रहणमा सहभागी भएदेखि यो दुई देशबीच पहिलो उच्चस्तरीय सम्पर्क हो ।

अमेरिकी अर्थमन्त्री बेसेन्टले अन्तर्राष्ट्रिय आर्थिक प्रणालीलाई अमेरिकी हितमा पुनः सन्तुलन गर्ने इच्छा रहेको बताए । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, “यो वार्ता तनाव कम गर्ने केन्द्रित हुनेछ, ठूलो व्यापार सम्झौताका लागि होइन । तर, अगाडि बढ्नुअघि तनाव घटाउनैपर्छ ।”

बुधबार बिहान चीनको व्यापार मन्त्रालयका प्रवक्ताले भने, “अमेरिका वार्तामार्फत विवाद समाधान गर्न चाहन्छ भने एकतर्फी आयात करको आफ्नै र विश्वमा पारेको नकारात्मक प्रभावलाई स्वीकार्नैपर्छ ।” चीनको राज्य नियन्त्रित मिडियाले बताएअनुसार विश्वको अपेक्षा, देशको हित र अमेरिकी व्यवसायको अपिललाई विचार गर्दै चीनले अमेरिकासँग वार्ता गर्ने निर्णय गरेको हो । चीन वार्ताका लागि खुला रहेको तर व्यापार युद्ध जारी रहे अन्त्यसम्म लड्न तयार रहेको चिनियाँ पक्षको भनाइ छ ।