बढ्यो पर्यटन क्षेत्रमा लगानी


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
1.4K
SHARES

१२ असार काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको पर्यटन क्षेत्रमा निजी तथा सरकारी लगानी उल्लेखनीय रूपले बढिरहेको छ । देशभर नयाँ होटल, रेसोर्ट, ट्रेकिङ मार्ग, साहसिक पर्यटन पूर्वाधार र विमानस्थलमा व्यापक लगानी भइसकेको छ । तर, लगानीको अनुपातमा विदेशी पर्यटकको आगमनमा अपेक्षित वृद्धि हुन नसक्दा पर्यटन क्षेत्रले चित्तबुझ्दो प्रतिफल पाउन सकेको छैन।

चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० वैशाखसम्ममा २० वटा वाणिज्य बैंकले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो।

अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढेको छ। पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ९४ करोड ८ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो ।