बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध
१५ असार मध्यविन्दु । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कीबास क्षेत्रस्थित वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका निम्ति राखिएको डाइभर्सन र साना तथा यात्रीवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि यति बेला यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का एसपी यादव ढकालले जानकारी दिए ।“अहिले यस सडकखण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ,” उनले भने ।
उनका अनुसार, वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो । “अहिले यस सडक क्षेत्रको दाउन्ने–दुम्कीबासखण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ,” एसपी ढकालले भने ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन निरन्तरको वर्षासँगै पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ ।