नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी
२७ भदौ काठमाडौं । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएकाले पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।