गगनको राजनीतिक प्रतिवेदन : नेतृत्व, अवसर र प्रतिस्पर्धाको विषयमा स्पष्ट खाका
१९ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत संगठनमा व्यापक सुधार ल्याउने भन्दै सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेतृत्व, अवसर र प्रतिस्पर्धाको विषयमा स्पष्ट खाका तय गरिएको छ । प्रतिवेदनमा प्रस्तुत ‘निर्वाचन र जनविश्वास’को सवालमा निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उमेदवारसहित जनविश्वास जितेर प्रतिस्पर्धा गर्ने भनिएको छ । मतको अंकगणितका लागि आफ्नो मौलिक पहिचान दाउमा नलगाउने नीति थापाले अघि सारेका छन् ।
यस्तै, उमेदवार र जिम्मेवारी दिँदा प्राथमिक निर्वाचन (प्राइमरी), योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई उमेदवार छनोटको आधार बनाइने भनिएको छ । “पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बन्न दिइने छैन,” प्रतिवेदनमा उल्लेख छ ।
नीति, नेतृत्व र उमेदवार छनोटमा पार्टी सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिएको छ । तर, उनीहरूलाई निर्देशन पालना र निर्वाचनमा भोट खसाल्ने साधनमा मात्र सीमित नराख्ने प्रतिवेदनमा उल्लेख छ ।
महिला, युवा र वञ्चितीकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउने भनिएको छ । प्रतिनिधित्वलाई केवल संख्या वा औपचारिकताको सजावटमा सीमित नगर्ने नीति सभापति थापाले अघि सारेका छन् ।