प्रधानमन्त्रीलाई प्रहरी र सशस्त्रका आईजीपीले परिचय मात्र दिए
२९ भदौ काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशील कार्कीले आइतबार (भदौ २९) पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।पदभार ग्रहणपछि परिचयात्मक कार्यक्रममा सरकारका सचिवहरू, नेपाली सेनाका प्रधानसेनापतिसहित रथीहरू, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)सहित सिनियर अधिकृतहरू र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहितको उपस्थिति थियो ।
उपस्थित सबैले पालैपालो आफ्नो परिचय दिँदै कार्कीलाई बधाईसहित सफल कार्यालयको शुभकामना दिएका थिए । प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित अधिकारीहरूले भने आफ्नो नाम र पद मात्र भनेर परिचय गराए ।
‘जेनजी’को आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीका कार्यालय जलाउनुका साथै मृत्यु भएकाको शव सडकमा ल्याएर दुर्व्यवहार गरेका थिए । नागरिकको सुरक्षाका निम्ति खटिने प्रहरी भाग्दा समेत ज्यान जोगाउन मुस्किल परेको थियो । खोलामा हामफालेर भाग्दा पनि प्रदर्शनकारीले लखेटीलखेटी हत्याको प्रयास गरेका थिए । त्यसयता प्रहरी ‘डिमोलाइज्ड’ भएर काममा फर्किएको छ ।