आगोले जलेर कालो भएको भित्ताको पृष्ठभूमिमा तीन मन्त्रीको शपथ


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
1.2K
SHARES

३० भदौ काठमाडौं । जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारका तीन मन्त्रीले शपथ लिएका छन् । सेनाले सुरक्षा दिएको राष्ट्रपति कार्यालयसमेत प्रदर्शनकारीले जलाएर भदौ २४ मा ध्वस्त बनाइदिएका थिए ।त्यही आन्दोलनको जगमा बनेको सरकार विस्तारित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ गराए ।अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिँदै गर्दा पृष्ठभूमिमा भने डढेर कालो भएको भित्ताको देखिएको थियो ।

भदौ २३ गते भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली अपनाउने दुईवटा माग लिएर सडकमा उत्रिएका जेनजी युवामाथि प्रहरीले गोली चलाएको थियो, जसमा पहिलो दिन १९ युवाले ज्यान गुमाएका थिए ।असल मागसहित युवा आन्दोलनमा उत्रिँदा हत्या भएपछि २४ गतेको आन्दोलन आगजनी र तोडफोडमा रुपान्तरण भएको थियो । राष्ट्रपति कार्यालय शीतलनिवास, संसद् भवन, सिंहदरवार, सर्वोच्च अदालत तथा महत्त्वपूर्ण कार्यालयहरूमा आगो लगाइएको थियो ।

शीर्ष नेताहरूका घरमा पनि आगजनी भएको थियो । नेताहरूमाथि कुटपिट भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भागेर हिड्नुपर्ने अवस्था आएको थियो । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।त्यसपछि आन्दोलनको माग बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरी प्रतिनिधिसभा विघटन गरिएको छ ।फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गराउने गरी कार्कीको नेतृत्वमा गठन भएको सरकारमा खनाल, घिसिङ र अर्याल मन्त्री बनेका छन् ।

सरकारको मुख्य काम निर्वाचनको तयारी गर्ने हो । तर, तयारी गर्नका लागि आवश्यक निकायको संरचना ध्वस्त हुँदा अब निर्वाचनको तयारी गर्ने कि ती संरचना पुनःस्थापित गर्ने भन्ने चुनौती नागरिक सरकारसामु छ ।