काल्पनिक भाष्यले पछुताउनु पर्नेछ – अध्यक्ष ओली
३ असोज काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनुबाहेक केही हात नलाग्ने चेतावनी दिए ।
संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ ।’
उनले सबै नेपालीलाई अपिल गरेका छन्- ‘संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ ।’ संविधान दिवसका अवसरमा संविधान र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने उनले बताएका छन् ।
संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्दै ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार स्थापित गरेको उल्लेख गरे । संविधान जारी गर्ने क्रममा नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अहिले पनि ताजै रहेको उनले बताए ।
उनका अनुसार संविधान जारी भएपछि नेपाललाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना विकास, छिमेकी मुलुकसँग पारवहन सम्झौता र अर्थतन्त्रलाई मजबुत बनाउन थालिएको थियो । तर हालैको जेन–जी आन्दोलनमा घुसपैठमार्फत हिंसा मच्चाइएकाले निरपराध युवाको ज्यान गएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन आवश्यक छ,’ ओलीले भने ।