प्रचण्डलाई अध्यक्षबाट बिदा गरौँ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२
5.2K
SHARES

९ असोज काठमाडौं । नेकपा मा‌ओवादी केन्द्रका वरिष्ठ  उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षबाट पुष्पकमल दाहाललाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव राख्दै श्रेष्ठले प्रचण्डको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ गर्दै उनीमाथिको सम्मान कायम राख्नुपर्ने बताएका हुन्।

यहाँ के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्नेछ। यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ,’ उनले भनेका छन्, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँ प्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनुपर्दछ। नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ।’ श्रेष्ठले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कामको सुरुवात अहिले नै गर्नुपर्ने बताएका छन्।

‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ,’ उनले भने, ‘अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ। महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ।’

उनले तीन दशकसम्म एकै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहने विषयले नकरात्मक सन्देश दिएको पनि बताएका छन्। ‘प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नुपर्दछ। तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिल सहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ’ उनले भनेका छन्।