सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलायो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
2.2K
SHARES

३० असोज काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । “चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली राजदूतलाई २०८२ कार्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ,” मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल बताए ।

सरकारले फिर्ता बोलाएका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् ।

फिर्ता बोलाइएका राजदूतमध्ये सुवेदीबाहेक सबै राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका थिए ।  अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डामा नियुक्ति गरेका राजदूतमध्ये भारतका लागि डा. शंकर शर्मा, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई भने सरकारले फिर्ता बोलाएको छैन ।