जेनजी आन्दोलनबाट देशले अकल्पनीय क्षति बेहोर्नुपर्‍यो – प्रहरी प्रमुख


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ३१ २०८२
1.3K
SHARES

३१ असोज काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् ।शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित सहिद प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले ‘आजका दिनसम्म प्रहरी नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल’ भएको बताए ।

उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिकरूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए ।

नेपाल प्रहरीबिनाको समाज परिकल्पना गर्न नसकिने उनको भनाइ छ । उनले विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।

“गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चात्का घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दछु,” उनले भने ।उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको पनि बताए । उनले प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता रहेको बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए ।