कृष्णबहादुर महरामाथि षड्यन्त्रको सुरुआत गरियो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
1.5K
SHARES

२ कात्तिक ललितपुर । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गरेका छन् । अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको उनले बताएका छन् ।नेपाल संवत् ११४६ को उपलक्ष्यमा आइतबार (कात्तिक २) माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आयोजना गरेको शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएको र १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।

“गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो । तर, भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढंगले गलत प्रवृत्तिको विकास हुँदै छ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौँ,” उनले भने ।

संयोजक प्रचण्डले ‘जेनजी’ आन्दोलनका माग पनि पार्टीकै अनुसारको भएकाले आफूहरूले समर्थन गरेको बताए । युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।“परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो । जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ । संविधान संशोधन गरेर, उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,” उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । “लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्,” उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे ।संयोजक प्रचण्डले नेतृत्वमा को हुनुपर्छ वा हुनु हुँदैन भनेर पत्रकारले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकार प्रत्याभूति गर्ने संविधान लेखिएको उल्लेख गरिन् । उनले समाजवादी ‘जनक्रान्ति’ सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

उनले १० वर्षे सशस्त्र द्वन्द्वमा समेत नभएको विध्वंस जेनजी आन्दोलनका क्रममा भएको र संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले त्यसलाई शान्त बनाएको टिप्पणी गरिन् । फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको उनले बताइन् ।