हराएका पर्यटक र पथप्रदर्शक भेटिए
२ कात्तिक म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि भेटिएका छन् ।धवलागिरि गाउँपालिका–४ स्थित धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार (असोज ३१) रातिदेखि हराएका एक नेपाली पथप्रदर्शक र एक जर्मन पर्यटक शनिबार राति (कात्तिक १) सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जर्मन नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रदर्शक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३, स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।
सेभेन समिट ट्रेक्समार्फत पदयात्रामा आएका उनीहरूले रातको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जंगलैजंगलको बाटो भएर उनीहरू स्याङमा आइपुगेका हुन् ।उनीहरूको खोजीका निम्ति कम्पनीले हेलिकोप्टर पनि परिचालन गरेको थियो ।