काठमाडौंमा २४, मधेस र कोसीमा ३६ घण्टासम्म वर्षाको पूर्वानुमान


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.9K
SHARES

१३ कात्तिक काठमाडौं । देशमा अबका तीन दिन वर्षाको पूर्वानुमान छ । मौसमविद्ले आउँदो शनिबार (कात्तिक १५) बिहानसम्म वर्षाको सम्भावना औँल्याएका छन् ।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले यो अवधिमा काठमाडौंमा २४ घण्टासम्म पानी पर्न सक्ने उल्लेख गरेका छन् ।

मधेस र कोसी प्रदेशमा ३६ घण्टासम्म पानी पर्न सक्ने उनले औँल्याएका छन् । “तीनवटै मोडेल्सले वर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अवधि उस्तै देखाएकोले एकदमै सजग हुनुपर्छ,” उनले बुधबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल देशमा अरबसागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको प्रभाव छ । अब आउँदो शनिबार बिहानसम्म ‘मोन्था’को प्रभाव रहने मौसमविद्ले बताएका छन् ।

हाल देशका केही स्थानमा पानी परिरहेको छ । दिउँसो र राति थप वर्षा हुने मौसमविद्को भनाइ छ ।“मोन्थाको प्रभाव सुरु । काठमाडौंलगायत पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा हुँदै । अब यो लगातार हुने वर्षा दिउँसो र राति थप सक्रिय हुने । शुक्रबार बिहानैदेखि थप वर्षा । मनसुनी झझल्को,” जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।उनले वर्षासँगै बाढी, पहिरो, डुबानको जोखिम औँल्याएका छन् । धानबालीमा पनि जोखिम हुने उनले जनाएका छन् ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि ‘मोन्था’को प्रभावले कोसीदेखि गण्डकी प्रदेशसम्म ठूलो वर्षा हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ३५ सय मिटरभन्दा माथिल्लो भूभागमा भारी हिमपात हुने उनले औँल्याएका छन् । अबका दुई दिन लामो दूरीको यात्रा नगर्न उनले सुझाव दिएका छन् ।आज र भोलि यात्रा नगर्नुहुन अनुरोध । आज अपराह्नदेखि हवाई सेवाहरू पनि प्रभावित हुन सक्ने,” उनले भनेका छन्, “सुरक्षित रहनुहोस् ।”