प्रचण्ड, खनाल र भुसालबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
1.5K
SHARES

१९ कार्तिक काठमाडौं । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालले आज भेटवार्ता गरेका छन्।  प्रचण्ड निवासमा झण्डै एक घण्टादेखि जारी भेटवार्ता अझै नटुंगिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

भेटवार्ता सकारात्मक रहेको भन्दै श्रेष्ठको अबको एकडेढ घण्टामा निर्णय आउने बताए। ‘एकडेढ घण्टामा निर्णय आउला। हामीले एउटै केन्द्रमा बस्नुपर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले भने, ‘उहाँहरूले हाम्रो पदीय बार्गेनिङ होइन भन्नु भएको छ। नीतिगत रुपमा केही विषयमा छलफल भइरहेको छ। त्यो छलफलपछि मात्रै निष्कर्ष आउँछ। एकडेढ घण्टाजति समय लाग्ला। सकारात्मक निर्णय आउने छ भन्ने आशा गरौँँ।’

छलफल सकारात्मक भएको भन्दै उनले आज दिउँसो हुन लागेको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा पनि खनाल र भुसाल सहभागी हुन सक्ने संकेत गरे। ‘विषय टुंगिसकेको त छैन, तर सकारात्मक छ। एकता प्रक्रियामा आउनु होला भन्ने आशाा गरौँ,’ श्रेष्ठले भने। पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाले गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वामपन्थी एकताको विषयमा कुराकानी गरेका थिए। तर, ओलीसँग एकता सम्भव नभएको खनालले नेपालखबरलाई बताएका छन्।