ओरालो लागेकाको एकताले निकास दिँदैन – घनश्याम भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
931
SHARES

१९ कार्तिक काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादीसहितको नौ समूहको एकताले निकास नदिने टिप्पणी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले ‘ओरालो लागेकाले उकालो लागिन्छ’ भन्ने भाष्य बनाउन खोजेको बताए ।

“ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदै छ । जो आफैँ ओरालो हिँड्दै छन् । यसले निकास दिँदैन,” उनले भने । उनले वाम आन्दोलनका लागि एमाले कसैको विकल्प नभएको पनि बताए ।

“एमाले चाहिँ निकास हो भनेर हामीमाथि मान्छेले प्रश्न गर्नेछन् । निसन्देहः नेकपा (एमाले) आज वाम आन्दोलनका लागि कसैको विकल्प होइन । फासिजमको नाजिजमको केही केही हेर्दाखेरि उग्र व्यक्तिवाद, उग्र निरंकुशता, क्रूरता,” उनी भन्छन् ।

उनले कम्युनिस्ट आन्दोलनभित्रको डरलाग्दो प्रवृत्ति एमालेभित्र रहेको बताए । “त्यसले पार्टी फोड्छ । तोड्छ, प्रश्न उठाए निकाल्दिन्छ । मुलुकलाई त्यसैगरी चलाउन चाहन्छ । राष्ट्रको भविष्यमाथि आफ्नो लाहाछाप चलाउन चाहन्छ,” उनी भन्छन् ।  “त्यो विकल्प होइन । विकल्प अरू हो,” भुसालले भने ।