एकतामा देशको हितमा भएकाले एकतामा आएँ – पूर्वप्रधानमन्त्री खनाल
१९ कार्तिक काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन् ।बुधबार (कात्तिक १९) काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिस्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । अब कहिल्यै नफुट्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अहिलेको कम्युनिस्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको उनको भनाइ छ । अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।सुरुमा खनाल आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) मा नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूसँगको एकताको विपक्षमा देखिएका थिए । यद्यपि, अन्तिम समयमा भने उनी बुधबार एकता सभामा सहभागी हुन पुगेका थिए ।खनालले कम्युनिस्टहरूमा एक-अर्काबीचको आरोपप्रत्यारोपको शृङ्खला अब अन्त्य हुनुपर्नेमा जोड दिए ।
जायज माग लिएर आन्दोलनमा उत्रिएका ‘जेनजी’हरूको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको उनको तर्क छ । देश ध्वस्त पार्न देशी विदेशी प्रतिक्रियावादीले ठूलो षडयन्त्र गरेको उनको भनाइ छ । मुलुकको पुनर्निर्माण गर्ने ताकत कम्युनिस्टसँग मात्र रहेको उनको भनाइ छ ।