थबाङमा जोडियो विद्युतको केन्द्रीय प्रसारण लाइन


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०८२
1.3K
SHARES

२४ कात्तिक रुकुमपूर्व । १० वर्षे सशस्त्र जनयुद्धको आधारभूमि मानिने रोल्पाको थबाङमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जोडिएको छ । थबाङ गाउँपालिका–१ र २ का गल्चोर, मराङ्थाना र ठूलो गाउँमा विद्युत आपूर्तिको औपचारिक सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद दिपेन्द्रकुमार पुनले स्वीच थिचेर विद्युत प्रवाह सुरु गरेका हुन् । उनले रोल्पामा पछिल्लो दशकमा ३६ हजारभन्दा धेरै घरमा विद्युत पुगेको उल्लेख गर्दै २०६४ अघि १९ प्रतिशतमा सीमित विद्युत पहुँच अहिले ७५ प्रतिशत नाघेको बताए ।उनका अनुसार, रोल्पाबाट अर्थमन्त्री हुँदा बजेट ल्याउन सजिलो भयो, त्यसकै परिणाम आज थबाङसम्म बिजुली पुगेको हो ।रोल्पामा कुल एक अर्ब ४ करोड रुपैयाँ बराबरको बजेट विद्युत विस्तारमा खर्च भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका प्रमुख अशेश्वर शाहले वर्षौंको प्रयासपछि केन्द्रीय लाइन थबाङ पुर्‍याउन सफल भएको बताए । ‘बत्ती बाल्नु मात्रै होइन, यो थबाङको आर्थिक रूपान्तरणको सुरुआत हो’, उनले भने ।बाँकी वडामा अर्को वर्ष लाइन विस्तार गर्ने तयारी प्राधिकरणले गरेको छ । गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार विद्युत पुगेसँगै करिब २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ‘पढाइदेखि सञ्चार र व्यवसायसम्म सहज हुँदैछ’, उनले भने ।