आयोगले भन्यो– एकार्काको अधिकारको सम्मान गरियोस् – राष्ट्रिय मानव अधिकार आयोग


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
3.1K
SHARES

४ मंसिर काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र ‘जेनजी’बीच झडप भएको सन्दर्भमा आयोगले एकार्काको अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ ।“…शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार (मंसिर ४) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयमताका साथ स्थितिलाई सामान्यीकरण गराउने कार्यमा सहयोग गर्न समेत आयोगले सबैलाई आग्रह गरेको छ । यस किसिमका घटनाले निर्वाचनको वातावरण नबन्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

“देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ,” आयोगले भनेको छ ।

त्यस किसिमका घटनाबाट नेपालको संविधानको धारा १७ मा उल्लिखित स्वतन्त्रताको हक हनन हुने आयोगले जनाएको छ । “साथै, निर्वाचनका सरोकारवालाहरूबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ,” विज्ञप्तिमा उल्लेख छ ।
सिमरामा बुधबार (मंसिर ३) दुई पक्षबीच भएको झडप र त्यसपछिको परिस्थितिका विषयमा आयोगले अनुगमन गरिरहेको जनाइएको छ ।बिहीबार पनि सिमरामा जेनजी प्रदर्शनमा उत्रिएका छन् ।