उच्छृङ्खल गतिविधिमा संलग्नलाई कारबाही हुन्छ – राष्ट्र बैंक
१ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीहरू लक्षित भएकाे गैर व्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले यस्ता गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालन र सेवा प्रवाहमा कठिनाइ हुने भन्दै यस्ता क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराएको हो ।
राष्ट्र बैंकले वित्तीय संस्था र कर्मचारीसँग गैर जिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी समेत दिएको छ। ‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैर जिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरूको मुख्य काम सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने र तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ।