राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत भौतिक प्रगति
५ पुस म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ ।
रघुगंगा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिनामा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णता दिन लागिएको जानकारी दिए ।
“सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ”, उनले भने, “२० मेगावाटको टर्वाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौँ । मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ ।”
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ ।