सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.1K
SHARES

११ पुस चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रबारदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ ।सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका छन् ।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सीदर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे । उनले नेपाललाई विश्वमा केवल प्रकृतिमय देश भएको र हात्ती महोत्सवबारेको अपूर्ण धारणालाई हात्ती नेपालको  संस्कृतिसँग जोडिएको पनि स्पष्ट हुनुपर्ने बताए ।आयोजकका अनुसार महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्‍याउने अपेक्षा गरिएको छ ।