काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ दिनदेखि ३ डिग्री
२४ पुस काठमाडौं । केही दिनयता देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीनदेखि लगातार ३ डिग्री सेल्सियसमा झरेको छ।मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) पनि ३ दशमलव शून्य डिग्री सेल्सियस नै छ। काठमाडौँमा गत मंगलबारदेखि न्यूनतम तापक्रम यही छ।
यस्तै आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् -८.१ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ।अहिलेसम्म उपलब्ध तथ्यांकअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाराको सिमरामा ९ दशमलव ८ अर्थात् ९.८ डिग्री सेल्सियस छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।