साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्छौं


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २८ २०८२
1.8K
SHARES

२८ पुस काठमाडौं । नेपालले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाटसम्म विद्युत् उत्पादन विस्तारको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आईआरइएनए)ले युनाइटेड अरब इमिरेट्स (यूएई)को अबुधाबीमा आयोजना गरेको महासभामा नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्तो घोषणा गरेका हुन् ।

“कार्यकारी निर्देशक नवराज ढकालले नेपालको ऊर्जा विकास मार्गचित्रले सन् २०३५ सम्म देशको विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाटसम्म विस्तार गर्ने, प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक एक हजार ५०० किलोवाट–घण्टासम्म पुर्‍याउने तथा सो अवधिसम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य अंगीकार गरेको बताउनुभयो,” यूएईस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबारदेखि ऊर्जा महासभा जारी छ । महासभामा विश्वका १७१ देशका एक हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । महासभाको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भर्चुअल सम्बोधन गरेका थिए ।

महासभामा नेपालका तर्फबाट यूएईका निम्ति नेपाली राजदूत तेजबहादुर क्षेत्रीको नेतृत्वमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ढकाल, यूएईस्थित नेपाली दूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख र प्रथम सचिव गरी चार सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

महासभामा सम्बोधन गर्ने क्रममा केन्द्रका कार्यकारी निर्देशक ढकालले नवीकरणीय ऊर्जासम्बन्धी महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन अत्यन्तै महत्त्वपूर्ण रहने बताए ।सन् २०३५ सम्म नेपालको एनडीसी लक्ष्य हासिल गर्न आवश्यक कुल अनुमानित लागत ७३.७४ अर्ब अमेरिकी डलर रहेको र त्यसमध्ये करिब ८५ प्रतिशत अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगबाट प्राप्त हुने अनुमान गरिएको उनले उल्लेख गरे ।

महासभामा क्षेत्रीय ऊर्जा रूपान्तरण, ऊर्जा प्रणाली सुदृढीकरणका निम्ति आवश्यक विद्युत् ग्रीड, दीर्घकालीन ऊर्जा योजना, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ताको उपयोग, दिगो उड्डयन इन्धनसहित वित्त परिचालन, कृषि तथा खाद्य प्रणालीमा नवीकरणीय ऊर्जाको योगदान तथा हरित औद्योगिकीकरणजस्ता समसामयिक तथा दीर्घकालीन महत्त्वका विषयमा छलफल गरिँदै छ ।महासभाले वैश्विक ऊर्जा रूपान्तरणलाई गति प्रदान गर्नुका साथै नवीकरणीय ऊर्जामार्फत समावेशी, दिगो र साझा समृद्धि हासिल गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।