पश्चिम नेपालमा वर्षा र हिमपात
१० माघ काठमाडौं । देशका केही भूभागमा शुक्रबार (माघ ९) अपराह्नदेखि वर्षा र हिमपात भएको छ । पश्चिम वायुको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशमा अरू भूभागमा भने बादल मात्र लागेको छ । पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षा भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जनाएका छन् ।
“पश्चिमी वायुले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षा गरायो भने हिमाली भेगमा अझै वर्षा भइरहेको देखिन्छ,” उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यस वर्ष हिउँदयामको यो पहिलो वर्षा हो । आउँदो सोमबारदेखि बुधबार (माघ १२–१४)सम्म देशमा फेरि वर्षा हुने ‘राम्रो’ सम्भावना रहेको उनले बताएका छन् ।पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि शुक्रबारसाँझदेखि सूदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यमसम्म वर्षा र हिमपात भएको जनाएका छन् ।