टुँडिखेलमा सेना दिवस तथा महाशिवरात्रि बढाइँ
३ फागुन काठमाडौं । नेपाली सेनाले २६३औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रमसहित मनाइरहेको छ ।काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेको छ । विभिन्न देशका सेनाले पनि आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए ।हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ ।
सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै विभिन्न संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो ।जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिको उपस्थिति थियो ।