रुकुमपूर्व समाजवादको उर्वर भूमि हो – प्रचण्ड
४ फागुन रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वमा छन् । उनी टोलटोलमा बिहानदेखि साँझसम्म कार्यकर्तासँग भेटघाट र संवादमा जुटिरहेका छन् ।आज बिहान मैकोटबाट कोल गएका उनी फल्नै गर्खानी, कोल, गोलखाडा, राङ्सी, नाखा, चारगाउँका मतदाता भेटघाटको कार्यक्रम छ । मतदातासँग प्रचण्डले नेपाली समुदायमा आधारित समाजवादमा जोड दिए ।
उनले भने, ‘रुकुमपूर्व समाजवादको उर्वर भूमि हो । नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्न सक्छ । हामीले चीन र भियतनामको मोडल पढ्यौँ, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ ।’पछिल्लो समय जेन-जी पुस्ताबाट देशको सही नेतृत्व गर्न र आन्दोलनमार्फत उठाएका माग सम्बोधन गर्न आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उनले दोहोर्याए । जेन-जीहरूले नेकपा नै अभिभावक हो भन्ने समेत बुझिसकेको उनको जिकिर छ ।
प्रचण्डले थपे, ‘जेन-जीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भनेका छन् । त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो ।’ मैकोटसम्म गाडीबाटो पुगेकोमा खुसी लागेको भन्दै उनले सहिद मार्गको अवधारणा जनयुद्धकालमै आफूले प्रस्ताव गरेको बताए ।उनले भने, ‘जनयुद्धकै बेलामा सुरू गर्ने प्रस्ताव पार्टीबाट निर्णय गराएर अघि बढाइएको मार्ग हो यो । सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने मेरो परिकल्पना छ । सहज र चिल्लो सडकबाट रमणीय मैकोट पुग्न सकिने वातावरण बनाउने लक्ष्य बनाएको छु ।’
आफू प्रधानमन्त्री हुँदा सुरू गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । विरोधीहरूले आफू चुनाव जित्नमात्रै रुकुम आएको आरोप लगाएको भन्दै उनले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजेको बताए ।‘हिजोको मुख्य आधार इलाका रुकुम-रोल्पा थियो, पहिले रोल्पाबाट सुरू गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरू हुन्छ’, उनले भने ।