कामबाट मन जितेपनि मतबाट जित्न सकिनँ – रेनु दाहाल


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२
3.6K
SHARES

२३ फागुन काठमाडौं । चितवन ३ मा नेकपाबाट उम्मेदवारी दिएकी रेनु दाहालले आफूले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी सोविता गौतम लाई सामाजिक सञ्जालमार्फत् बधाई दिँदै दाहालले यस्तो प्रतिक्रिया दिएकी हुन्।

उनले जनताका सपना, आवश्यकता र चाहनाहरू पूरा गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताएकी छन्। झन्डै ३० वर्षको राजनीतिक जीवनमा भरतपुरमा बिताएको ९ वर्षलाई आफूले विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उनको भनाइ छ।

उनले भनेकी छन्,‘झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें।’

दाहालले भरतपुर महानगरपालिकाको मेयरका रूपमा काम गर्दा विकासका लागि आवश्यक नीति–नियम पर्याप्त नहुँदा काम गर्न असहज भएको दाबी पनि गरेकी छन्। त्यसकै कारण आफूले नगर प्रमुखको कार्यकाल १५ महिना बाँकी रहँदै पद छाडेर प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट उम्मेदवारी दिएको बताइन्।

उनले भनेकी छन्,‘मैले काम द्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा।सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु।प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन।आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धीका लागि शुभकामना ब्यक्त गर्दछु। ’

यो सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गर्ने मतदाताहरु प्रति ऋणी रहेको बताउँदै यो गुन कहिल्यै नबिर्सने उल्लेख गरेकी छन् ।साथै चुनावी अभियानमा निरन्तर सकृय र उत्साहका लाथ खटिने सबैलाई धन्यवाद दिँदै चितवनबासीको हक हित, बिकास र समृध्दिका लागि भने निरन्तर साथमा रहने प्रतिबद्धता जनाइन् ।