माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु
२५ फागुन गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१, अरेवाका २१ वर्षीय दीपजन दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजतलास गर्ने क्रममा सोमबार (फागुन २५) बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दीपजन आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्न जाल बोकेर आइतबार (फागुन २४) राति बडिगाड खोलातर्फ गएका थिए । त्यहाँबाट फर्किएर डम्बरले घटनाबारे स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए । थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालयबाट पाँचजनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिइसकेको सूचना अधिकारी सारुले जानकारी दिए ।