नेपाली कांग्रेसलाई नयाँ ढंगले पुनर्संरचना गर्छौं – नेता सिटौला


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
2.5K
SHARES

२७ फागुन काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस अब उठ्ने बाटोमा लागिसकेको बताएका छन् । उनले कांग्रेस मासिन नलागेको बताए । बुधबार (फागुन २७) पर्टीबाट राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले उक्त कुरा बताएका हुन् ।

पार्टी अब उठ्ने बाटोमा लागिसकेको उनले दाबी गरे । कांग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको उनको भनाइ छ ।

यस्तो छ सिटौलाको भनाइ :

कांग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो सुरु गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली कांग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनै पनि अवस्था छैन । नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने, नयाँ दृष्टिकोण र विचार बनाउने बेला आएको छ । पार्टी संगठन र नीतिगत पक्षमा पनि नयाँ ढंगले प्रस्तुत हुने अवस्था सिर्जना भएको छ । हामी पार्टीलाई नयाँ ढंगले रिस्ट्रक्चरिङ (पुनर्संरचना) गर्छौं र यस विषयमा गम्भीर छलफल हुनेछ ।