उद्धार र सहायताको लागि ८२ हजार बढीले टिपाए नाम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२
2.5K
SHARES

६ चैत काठमाडौं । पश्चिम एसियामा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताको लागि आफ्नो नाम सरकारी वेब पोर्टलमा दर्ता गरेका छन् । “पश्चिम एसियाबाट हालसम्म ८२ हजार १०० ले नाम दर्ता गर्नुभएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार पत्रकार सम्मेलनमा भने, “तीमध्ये ६ हजारजतिले आफू असुरक्षित रहेको बताउनुभएको छ । तर, पछिल्ला दिन असुरक्षित छौँ भन्नेको संख्या घट्दो छ ।”

पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीहरूले उद्धार र सहायताको लागि आफ्नो नाम दर्ता गरेका हुन् । अमेरिका र इजरायलले गत फागुन १६ गते इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ । इरानले इजरायललगायत पश्चिम एसियाका साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, टर्कीलगायत देशमा रहेका अमेरिक सैन्य बेसहरूमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका छन् ।

पश्चिम एसियामा युद्ध चर्केपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले वेब पोर्टल बनाई सहायता र उद्धार चाहनेलाई आफ्नो नाम दर्ता गर्न भनेको थियो । सोही पोर्टलमा ८२ हजार १०० ले आफ्नो नाम दर्ता गरेका हुन् । पश्चिम एसियाका विभिन्न राष्ट्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।