आज पनि रविको मुद्दा ‘हेर्दाहेर्दै’ मा
९ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटउपरको सुनुवाई ‘हेर्दाहेर्दै’ मा परेको छ । न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सुनुवाई नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।
महान्यायाधिवक्ता सबिता भण्डारीले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन् । सो निर्णय गैरकानुनी र बदनियतपूर्ण भएको बताउँदै सिन्धुलीका युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अभिवक्ता आभास रेग्मीलगायतले माघ ४ गते सर्वोच्चमा रिट हालेका थिए ।
चैत १ गतेदेखि चार दिन लगातार सुनुवाई भएकोमा न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रिट ‘हेर्न मिल्ने’ न्यायाधीशको इजलासमा पठाउने आदेश गरेको थियो । सोहीअनुरुप आजदेखि पुनः सुनुवाई शुरु गरिएको हो ।