महाधिवेशनमा जानुको विकल्प छैन – नेता महर
१० चैत काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५औँ महाधिवेशनबाट पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित पार्टीका नेता कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महाधिवेशनबाट हिजोका सबै आग्रह पूर्वाग्रह त्यागेर नवीन यात्रा थाल्नुपर्ने बताए।
उनले भने, ‘विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा गर्नुपर्छ। व्यक्तिगत कुन्ठा र आवेग त्याग्न अपरिहार्य छ। नियमित र विशेष महाधिवेशनका नाममा विभक्त भएकाहरू पार्टी निर्माणका लागि साझा अभियानमा लाग्नुपर्छ।’ लोकतन्त्रको रक्षा र देशको सामाजिक आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैँभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने बताए।
उनले थपे, ‘आगामी महाधिवेशनलाई सबैको साझा पार्टी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्दै विगतका अतिरञ्जनापूर्ण अभिव्यक्ति र मनमुटाव बिर्सिएर अघि बढ्नु नै अहिले बुद्धिमानी हुन्छ। पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ।’