अझै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन – उपाध्यक्ष हेमराज ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १७ २०८३
893
SHARES

१७ बैशाख काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकको वर्तमान आर्थिक चुनौती र प्रतिकूल वातावरणमा निजी क्षेत्रको नेतृत्व गर्न अनुभवी र व्यावसायिक टिमको आवश्यकता रहेको बताएका छन् । महासंघको आसन्न निर्वाचनका सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रस्तावित उमेदवार ढकालले आफ्नो टिमले नयाँ सरकारका चुनौती र सम्भावनालाई चिर्दै निजी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे । आफ्नो प्यानलमा पुरानो र नयाँ पुस्ताको उत्कृष्ट सन्तुलन रहेको ढकालले उल्लेख गरे ।

उनका अनुसार, टिममा सचिन ढकाल र जश श्रेष्ठ जस्ता ‘जेनजी’ पुस्ताका नवप्रवर्तनकारी उद्यमीदेखि गोपाल खनाल, शैलेन्द्र गोरागाइँ, अविनाश बोहोरा, सुनिलनारायण श्रेष्ठ र डा. रामशरण थपलिया जस्ता अनुभवी व्यक्तित्वहरू समावेश छन् । यो मिश्रित टोलीले स्टार्टअप, इनोभेसन र परम्परागत उद्योग सबैको प्रतिनिधित्व गर्ने उनको तर्क छ । निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र रोजगारीमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्‍याए पनि राज्यको प्राथमिकतामा पर्न नसकेकोमा ढकालले चिन्ता व्यक्त गरे ।

विशेषगरी, अनुसन्धानका नाममा व्यवसायीहरूलाई बिनाप्रमाण थुनामा राख्ने प्रक्रियाप्रति उनले आपत्ति जनाए । आफ्नो कार्यकालमा कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन, र बहुदर कर प्रणालीका लागि पहल गरेको स्मरण गरे ।ढकालले अबको नेतृत्वले ‘निजी क्षेत्र संरक्षण र प्रवर्द्धन रणनीति’ (पीएसपीपी)लाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । वर्तमान सरकारले अघि सारेको १०० दिनको कार्ययोजना र अर्थमन्त्रीले दिएका आश्वासनहरू निजी क्षेत्रमैत्री देखिए पनि व्यवहारमा अझै समस्या रहेको उनको भनाइ छ ।  १५ वटा पुराना कानुन खारेजी र राजश्व अनुसन्धान विभागको पुनर्संरचना जस्ता सकारात्मक घोषणा भए पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको उनले औँल्याए ।