पुरानाको भाष्यमा मलाई पनि घिसार्न खोजिँदैछ – प्रचण्ड
२९ बैशाख काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले भने, ‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।’
रास्वपासँगको सहकार्य सम्झिँदै उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’ प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको बताए । प्रतिपक्षका रूपमा संख्या सानो भए पनि दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लडेको उनको जिकिर छ ।
प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको टिप्पणी गरे ।‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ । सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ’,उनले भने ।