सिद्धबाबा सुरुङमार्गको प्रगति ७० प्रतिशत


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३० २०८३
817
SHARES

३० बैशाख बुटवल । रुपन्देही र पाल्पा जोड्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ७० प्रतिशत नाघेको छ । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डमा निर्माण भइरहेको सुरुङमार्गको ब्रेक थ्रु २०८१ माघ १० गते गरिएको थियो । सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख नवराज बास्तोलाले सुरुङमार्गको भौतिक प्रगति ७० प्रतिशत नाघेको र वित्तीय प्रगति ६० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । टनेलभित्रको सडकको काम सकिन लागेको र जेठको सुरूदेखि इलेक्ट्रोमेकानिकल कम्पोनेन्ट जडान सुरु हुने जानकारी दिए ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने सुरुङमार्ग १ हजार १२६ मिटर लामो र साढे ८ मिटर चौडा छ । टनेलभित्र एकतर्फी बाटो ढलान सकिएको छ भने अर्को लाइनमा ढलान भइरहेको छ । कुनै अवरोध आए वैकल्पिक अवस्थामा सुरुङबाट पनि गाडी पठाउन सक्ने गरी काम भइरहेको बास्तोलाले बताए ।

सुरुङमार्गको बुटवल र तानसेनतर्फका दुवै मोहडामा जोखिमयुक्त क्षेत्रमा रक सेड र स्लोप प्रोटेक्सनको काम जारी छ । यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमपूर्ण सडकलाई माथि भिरसम्मै सुरक्षा प्रदान गर्ने प्रविधि हो । ‘न्याथम मेथड’ डिजाइनमा सुरुङमार्ग बनेको र सोहीअनुसारका रक सेड र स्लोप प्रोटेक्सनका काम भइरहेको बास्तोलाले बताए ।

आयोजना निर्माणको ठेक्का सम्झौता १ वर्ष बाँकी छ । २०८० माघ ४ गतेबाट सुरुङ खन्न थालिएको थियो । “ठेक्का सम्झौतासम्म हाम्रो कम्तीमा ९० प्रतिशत काम सकिन्छ,” बास्तोलाले भने, “बढीमा ६ महिना थपेर काम सकिन्छ भन्ने मेरो अनुमान छ । तर, अहिले तीव्र गतिमा काम भइरहेको छ ।” ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । ठेक्का सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्नेछ ।