प्रतिनिधिसभामा बोल्दा शब्द चयनमा संवेदनशील हुन सभामुखको आग्रह
३१ बैशाख काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा धारणा राख्ने क्रममा शब्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
उनले अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक शब्द प्रयोग नगर्न भनेका छन् । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न नहुनेमा उनको जोड छ । असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने विषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विषेश ध्यान दिन उनले आग्रह गरेका छन् ।
उनले रास्वपा सांसद गणेश पराजुलीले धारणा राख्ने क्रममा प्रयोग गरेका केही शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए । वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले धारणा राख्दा प्रयोग भएका केही शब्दहरूलाई हटाउन विपक्षी दलका सांसदहरूले माग गरेका थिए ।