आन्तरिक राजस्व विभाग र कम्पनी रजिष्ट्रार कार्यालयबीच समझदारी
३१ बैशाख काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयबीच विद्युतीय विवरण आदानप्रदान गर्ने समझदारी भएको छ ।
मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुँदा ५८ बमोजिम यो समझदारी भएको हो । समझदारीपत्रमा आन्तरिक राजस्व विभागका तर्फबाट महानिर्देशक रमेश अर्याल र कम्पनी रजिष्ट्रारको कार्यालयका तर्फबाट रजिष्ट्रार बलराम निरौलाले हस्ताक्षर गरेका छन् ।
यो समझदारी वैशाख २९ गतेदेखि लागु भएको विभागले जनाएको छ । प्रशासन तथा कम्पनी प्रशासन सम्बन्धी विवरणहरू स्वचालित रूपमा प्राप्त हुने हुँदा सेवा प्रवाह थप छिटो, पारदर्शी, भरपर्दो र प्रभावकारी बनाउन यस्तो सम्झौता भएको हो ।