सरकारको नीति तथा कार्यक्रममा ठोस मार्गचित्रको अभाव – वर्षमान पुन


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३१ २०८३
1.3K
SHARES

३१ बैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताए । सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको भन्दै असन्तुष्टि जनाए ।

विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्री–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको उनको भनाइ छ । प्रधानमन्त्रीले संसद्‌मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकांक्षा रहेको स्मरण गराउँदै पुनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको बताए ।

यस्तो छ सांसद पुनको भनाइ :

प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्‌मा देखिएको छ । सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन । सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।