नीति तथा कार्यक्रम बहकाउमा लेखियो – रञ्जित कर्ण
३१ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाउ’ लेखेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा कर्णले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको उल्लेख गर्दै आजको परिवेशमा यो लक्ष्य प्राप्त हुन नसक्ने टिप्पणी गरे । लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादन (जीडीपी) को कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्ने उनको भनाइ छ । वर्तमान परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए ।
हरेक तीन महिनामा क्षेत्रगत उत्पादन खर्चको विवरण संसद्मा पेस गर्ने व्यवस्था गर्नुपर्ने कर्णाको सुझाव छ । यसले पारदर्शिता र जवाफदेहिता बढाउने उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई सांसदहरूले नै भेट्न नपाउने यो कहाँको शासन शैली हो ? सरकारको हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा साह्रै राम्रा कुराहरू उठेका छन् । तर, कतै बहकाउमा लेखिएको हो कि भन्ने आशंका पनि छ । सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिको आधारहरू के-के हुन् त ? त्यसको लागि हामीले जीडीपीको कम्तिमा ३५ प्रतिशत लगानी चाहिन्छ । जुन आजको परिवेशमा कसैगरी सम्भव छैन ।
हामीले पुराना नजिर हेर्ने हो भने सरकारले विकास खर्च गर्न सक्दैन । तर, हामी सजिलै आकाश छुने गफ लगाइदिन्छौँ । र, प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन खर्चको जवाफदेहीता र प्रथिवेदन यस सदनमा पेस गर्ने व्यवस्था पनि गरिनुपर्छ । यसकले पारदर्शीताको पनि सिर्जना गर्छ । सहकारी संकट समाधान गर्नुपर्छ । सरकारले ल्याएको योजना पीडितमैत्री लागे पनि दीर्घकालका लागि यो घातक छ । न्युज एजेन्सी नेपाल