सत्तापक्षका सांसदहरू निरीह हुनुभयो – नेता पुन
६ जेष्ठ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्षका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् । सत्तापक्षका सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनको भनाइ छ ।
त्यस्तै उनले ढिलो गरी संसद्को अधिवेशन आह्वान भएकाले बजेटकेन्द्रित छलफल छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । सरकारको नियत संसद छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए । सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।