सदस्यता अद्यावधिक नगरे जिम्मेवारी खोसिन्छ – सभापति थापा
६ जेष्ठ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई मिलाएर जानको लागि आफूले प्रयास गरिरहेको बताएका छन् । बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै ‘पार्टी सदस्यता अद्यावधिक गराउँदिनँ’ कसैले भन्न नपाउने बताए । उनले भने, ‘मेरो साथीहरूलाई चित्त बुझाएर गर्छु, पार्टी मिलाएर लिएर जान्छु । तर, पार्टी र पार्टीको सदस्यलाई बलियो बनाउन यो अध्यावधिक गर्ने कुरामा खिच-पिच कसैले नगर्दिनु होला । यो मैले एकदम प्रस्टसँग भनिसकेको छु ।’
उनले जिम्मेवारीमा बसेका नेताहरूले अद्यावधिक नगरे अर्कोलाई जिम्मा दिने बताए । उनले भने, ‘कुनै पनि तहको साथीले, वडा, जिल्ला, क्षेत्रको सभापति होला यो काम म गर्दिनँ भनेर भन्नुभयो भने हिजो मैले उहाँलाई देखेर दिइसकेको छु। उहाँलाई त्यो अधिकार दिएको छु, विधानको अधिकार हो यो । जिल्ला सभापति हुनुहुन्छ, तर म अहिले क्रियाशीलको काम गर्दिनँ भनेर भन्नुभयो भने अर्को दिन क्रियाशील सदस्यता सम्बन्धी सबै काम, अधिकार सबै खोसेर अरू साथीलाई जिम्मा दिन्छौँ ।’
उनले बाहिर भएका नेताहरूलाई पार्टीमा एकताबद्ध भएर काम गर्न आग्रह गरे। उनले भने, ‘जो नेताहरू बाहिर हुनुहुन्छ, म उहाँहरूलाई यही कुरा भनिरहेको छु, केन्द्रीय समितिभन्दा बाहिर रहनुभएको नेताहरूलाई केन्द्रीय समितिभित्र आउनु, सँगै बसौँ, काम गरौँ ।’उनले पार्टीको विधान अनुसार नै सदस्यताको काम अघि बढाएको बताए ।
उनले भने, ‘प्रत्येक वर्ष क्रियाशील सदस्यको नवीकरण गर्नुपर्छ। यो विधान लेख्ने समितिको अध्यक्ष कृष्ण सिटौला हुनुहुन्थ्यो। त्यसपछिको अध्यक्ष हुनुहुन्थ्यो पूर्णबहादुर खड्का, उहाँले लेख्नुभएको विधान जस्ताको तस्तै छ । तर, जहिले पनि हामी विधानको धारा निलम्बन गथ्र्यौं। मैले यसपालि निलम्बन नगर्ने भनेको हुँ । क्रियाशील सदस्यको सङ्ख्या ८ लाख, ९ लाख भनेर हुन्छ, तर म त्यो सदस्यलाई बलियो बनाउन चाहन्छु। त्यो सदस्यको रेकर्ड पार्टीसँग रहनुपर्छ।’