साढे २९ खर्ब नाघ्यो सार्वजनिक ऋण
८ जेष्ठ काठमाडौं । नेपालको सार्वजनिक ऋणको भार दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको छ । एकातर्फ, पहिलेदेखिको ऋण दायित्व बढ्दै गएको छ । अर्कोतर्फ, अमेरिकी डलरको मूल्य बलियो हुँदा नेपाली मुद्रा अवमूल्यनकै कारण मुलुक ऋण दायित्वको भारले झन् थिचिँदै गएको देखिन्छ । कुनै पनि देशले ऋण लिएर लगानी बढाउनु गलत होइन । तर, ऋणलाई उपभोगमुखी कार्यमा भन्दा उच्च प्रतिफल दिने र पुँजी निर्माण हुने रूपान्तरणकारी आयोजनामा मात्र परिचालन गर्नुपर्नेमा महालेखा परीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले ध्यानाकर्षण गरेको छ ।
त्यसो त, सरकारको कुल सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा २९ खर्ब ७५ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४५.०८ प्रतिशत हो । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.५७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.४३ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ ऋण दायित्व छ । १० महिनाको अवधिमा विनिमय दरको नोक्सानीसहित तीन खर्ब ९९ करोड रुपैयाँ थपिएको हो ।