एमाले बैठकमा चर्काचर्की : कसले के भने ?
९ जेठ काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनको विषयले नेतृत्वलाई दबाब परेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली शुक्रबार बसेको बैठकमा अल्पमतमा परे ।
पार्टीको केन्द्रीय सचिवालय बैठक शुक्रबार एजेन्डामाथि छलफल नै नभई स्थगित भयो । बैठकमा बोल्ने पाँचजना उपाध्यक्षमध्ये चारजनाले ओलीको राजीनामा मागेका छन् । उनीहरूले स्पष्ट रूपमा पार्टीको नेतृत्व छोड्न आग्रह गरेका छन् ।
बैठकको सुरुमा अध्यक्ष ओलीले विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको भन्दै नामै लिएर आरोप लगाएपछि उपाध्यक्ष रामबहादुर थापा बादलबाहेक विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले नेतृत्व हस्तान्तरणको विषय उठान गरेका थिए । अहिलेको अवस्थामा अध्यक्षले समयानुकूल, परिस्थिति बुझेर पार्टीलाई जोगाउनतिर लाग्नुपर्ने उनीहरूको भनाइ थियो ।
अध्यक्ष ओलीले सुरुमै पार्टी पुर्नगठनमा लागेको भनेपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पार्टी ‘तपाईंको प्राइभेट लिमिटेड’ होइन भन्दै प्रतिवाद गरेका थिए । ओलीको व्यवहार निरंकुश रहेको पनि उनले बताए । एमाले पार्टी बनाउन अध्यक्ष ओलीको मात्र इफोर्ट नलागेको उनको भनाइ थियो ।
बैठकमा अध्यक्ष ओलीसहित चुनावमा जाँदा परिणाम प्रतिकूल भएको पनि नेताहरूले आरोप लगाए । कुनैबेला ३८ लाख मत रहेको पार्टी अहिले खुम्चिन पुगेको उनीहरूको भनाइ छ ।
उपाध्यक्षहरूले धारणा राख्दै गर्दा अध्यक्ष ओलीले बारम्बार प्रतिवाद गरेका थिए । बैठकमा उपाध्यक्ष विष्णु पौडेलले जबजको विषय उठान गरेका थिए । पौडेलले दुई कार्यकाल र ७० वर्ष उमेर हदमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि सोही विषय दोहोर्याउँदै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताए ।
बैठकमा बोल्ने नेताहले अध्यक्षको बर्हिगमन, पार्टी पुनर्गठनलगायत विषयमा जोड दिएका थिए । बैठकमा सबैले मनमा लागेको कुरा खुलेर भनेको उपमहासचिव लेखराज भट्टले बताए । पार्टीभित्र सुध्रिएर जानुपर्छ भन्ने विषय उठान हुँदा अध्यक्ष ओलीले नेताहरूलाई बाइपास गर्ने गरेको विषय पनि उठान भएको थियो ।
अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न सक्दैन भन्ने शुक्रबारको बैठकमा बोल्ने पदाधिकारीको आशय थियो । नेताहरूले आउँदै गरेको स्थानीय चुनावको बारेमा समेत चिन्ता व्यक्त गरेका थिए ।
शुक्रबारको बैठकमा जेठ ४ गते महासचिव शंकर पोखरेलको प्रस्तावित कार्यविभाजनबारे छलफल हुने भनिए पनि विषय प्रवेश समेत हुन पाएन ।
शनिबार (आज) बिहान साढे ११ बजे बस्ने गरी बैठक स्थगित भएको थियो । आजको बैठकमा महासचिव, उपमहासचिव र सचिवहरुले धारणा राख्नेछन् ।