फुटेर होइन, जुटेर नै कांग्रेस बलियो हुन्छ – युवा नेता महर


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १० २०८३
931
SHARES

१० जेठ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले पार्टीभित्र एकताका साथ १५औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको बताए ।

कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उनको भनाइ छ । उनले भने, “कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौँ मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो । ”

उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए । उनले भने, “यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो । त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।” कांग्रेसभित्र एकताको बहस गर्दै आएका महरले पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै असहमति हुन सक्ने, तर मनभेद हुन नहुने धारणा राखे ।