प्रधानमन्त्री शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन हामी संयुक्त रूपमा माग गर्नेछौँ – प्रमुख सचेतक दुलाल


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३
418
SHARES

१८ जेष्ठ काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको रोस्टममा उभिएर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन विपक्षी दलहरूले संयुक्त रुपमा माग गर्नुपर्ने बताएका छन्। ‘यो विषयमा हामी विपक्षी दलहरू छलफलमै छौँ,’ उनले नेपालखबरसँग भने, ‘आज पनि प्रतिनिधिसभाको बैठकअघि पनि हामी प्रतिपक्षी दलहरूको संयुक्त बैठक हुँदेछ। त्यहाँ पनि यस विषयमा छलफल हुन्छ।’

प्रतिपक्षी दलहरूको बैठक सोमबार दिउँसो १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।
दुलालले प्रधानमन्त्री शाहले आइतबार संसद् बैठकमा जे भने त्यो राष्ट्रियताको लागि गम्भीर विषय भएको बताए। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी आइतबार संसद्‌मा दिएको अभिव्यक्तिको यतिबेला चाैतर्फी बिरोध भइरहेको छ।

‘प्रधानमन्त्री ज्यूले हिजो संसद्‍मा बोल्नु भएको विषय राष्ट्रको लागि निकै गम्भीर छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ र प्रधानमन्त्रीले कमजोरी स्वीकार गर्दै अभिव्यक्ति सच्याउनु पर्छ भन्ने हाम्रो पार्टीको धारण छ। अरु सबै विपक्षी दलहरूको पनि यही धारणा बन्नुपर्छ भन्ने हाम्रो पार्टीको माग छ। यो विषयमा पनि विपक्षी दलको बैठकमा आज छलफल हुन्छ।’

हिजोको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको संसद्‍मा विपक्षी दलहरूले आ-आफ्नो ढंगले विरोध गरेको उनले बताए।‘हिजो नियमावली जबर्जस्ती पास गर्ने काम भयो। प्रधानमन्त्रीको अभिव्यक्तिको पनि सबै विपक्षी दलहरूबाट विरोध भयो,’ उनले भने, ‘कसैले राजीनामा मागे, कसैले अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्छ भन्नुभयो। हामीले चाहीँ प्रधानमन्त्रीज्यूको अभिव्यक्ति रेकर्डबाटै हटाउन हिजो पनि माग गरेका थियौँ। आज पनि हाम्रो धारणा त्यही नै हुनेछ।’

प्रधानमन्त्री शाहले संसद्‍मा राष्ट्रियतालाई कमजोर बनाउनेगरी दिएको अभिव्यक्तिको विषयमा संसदीय दलको भन्दा पनि विक्षपी पार्टीहरूकै साझा धारणा आउनुपर्ने उनले बताए। ‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियताको सवालसँग जोडिएको छ, यसमा सबै पार्टीको धारणा आउनुपर्छ,’ उनले भने।