घरै भत्काउँछु भन्नेहरूसँग मैले केही गर्न सक्दिनँ – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३
1.3K
SHARES

२६ जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भन्दै छन्, “हाम्रो मन्त्र अब नेता मिलाउने होइन, पार्टीसँग जनता मिलाउने हुनुपर्छ ।”कांग्रेस गोरखा जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको भेटघाटमा सभापति थापाले लामो भाषण गरे । उनले भाषणकै क्रममा कसैले पार्टी छाडेर जान्छन् भने जान दिनुस्, नफकाउनसम्म भन्न भ्याए ।

उनको भनाइ छ, “विशेष महाधिवेशन एउटा सन्दर्भमा भएको हो, यसमा को हुनुहुन्थ्यो को हुनुहुन्नथ्यो भन्ने विषय सक्कियो, सबैलाई मिलाएर जान्छु । एक–दुईजनाले खुट्टा उचाले भन्दैमा चिन्ता नगर्नुस् । फकाउनतिर पनि नलाग्नुस् ।”

पार्टीलाई ठिक बनाउनेतिर लाग्न उनले आग्रह गरे । उनले भने, “पार्टीभित्रको फोहोर सफा गरौँ, पार्टीको दृष्टिकोण ठिक बनाऔँ । हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको थियो । त्यसलाई सम्हालौँ । सत्ता–सत्ता–सत्ता भनेर बिग्रिएका छौँ, जनता भन्ने ठाउँमा पुर्‍याऔँ । आफैँ सबै ठिक हुन्छ ।”

उनले आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताए । उनले भने, “कुहिनोले भित्तै फोड्छु, घरै भत्काउँछु भन्नेहरूसँग त मैले केही गर्न सक्दिन । नेता रिसाउनुभयो भन्ने कुराको चिन्ता होइन । ठूलो चिन्ता भनेको जनता रिसाएको हो । नेता धेरै फकाउँदै गर्दा जनता फकाउन सकेन भने अर्थ हुँदैन ।”

उनले क्रियाशील सदस्यता अद्यावधिक नगरेका नेताहरू छुट्ने संकेत गरे । उनले भने, “आईडी प्राप्त गर्ने साथीले मात्रै अब आउने चुनावमा भाग लिन पाउनु हुनेछ । कसैले म अद्यावधिक गर्दै गर्दिन भन्नुभयो भने हामीले जुन तरिकाबाट पार्टी सञ्चालन गर्न खोजिरहेका छौँ, त्योभित्र प्रवेश गर्ने अवस्था बन्दैन ।”