प्रतिनिधि लाखापाखा भएपछि रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
२७ जेठ काठमाडौं । रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन भएकाे अधिवेशन आज नयाँ नेतृत्वचयनबिनै स्थगन गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा सदस्यका एक प्रत्याशीको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा अधिवेशनस्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
आज पनि मतदानमा ढिलाइ भएपछि प्रतिनिधि लाखापाखा भएका थिए । अन्तमा निर्वाचन आयाेगले अधिवेशन स्थगनकाे घाेषणा गरेकाे छ । अधिवेशनमा प्रदेशकाे नेतृत्वको लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यले उम्मेदवारी दिएका थिए । अर्का आकांक्षी वदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिए । निर्वाचन आयोगले मतपत्रमा त्रुटि देखिएको भन्दै निर्वाचन प्रक्रिया रोकेको हाे । करिब चार सय जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन् ।
केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रमवश फर्किनुभएका लगायत सबै प्रतिनिधिहरूलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ यी प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन अगाडि बढाइ बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइनेछ।’ रास्वपाले विवाद देखिएपछि यसअघि मधेश प्रदेशको अधिवेशन पनि स्थगित गरेको थियो।