विभाजन चाहनेसँग सचेत हुनुपर्छ – अध्यक्ष ओली
३१ जेष्ठ काठमाडौं । नेकपा (एमाले)मा नेतृत्वबारे प्रश्न नै बनाएर पार्टी पुनर्गठन कार्यदलले सुझाव लिन थालेको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको कार्यदलले शनिबार (जेठ ३०) वाग्मती प्रदेशबाट सुझाव लिएको हो । भेलामा महासचिव एवं कार्यदलका सदस्यसचिव शंकर पोखरेलले केही प्रश्न सुनाएका थिए । निर्वाचनको परिणाम त्यस्तो कसरी आयो ? पार्टी नेतृत्वको प्रश्न पनि उठ्ने गरेको छ, हामी कसरी जानुपर्छ ? लगायत प्रश्नबारे आफ्ना धारणा राख्न भनिएको थियो ।
भेलामा मिश्रित धारणा व्यक्त गरिएको थियो । पार्टी पुनर्गठनका निम्ति नेतृत्व फेर्नुपर्ने सुझाव समेत दिइएको नेताहरूले बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीलाई नहटाई पार्टी बन्दैन भन्ने धारणा पनि व्यक्त गरिएको छ । उनलाई मात्र दोष थुपरेर पार्टी नबन्ने धारणा समेत नेताहरूले व्यक्त गरेका थिए ।
“मिश्रित कुरा आएका छन् । पार्टी पुनर्गठित हुन नेतृत्वले छोड्नुपर्छ भन्ने सुझाव छ । अझै पनि ओली हटाउनु हुँदैन भन्ने आवाज बुलन्द रूपमै छ,” भेलामा सहभागी एक नेताले भने । गोकुल बास्कोटा, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत नेताले नेतृत्व नफेरी पुनर्गठन हुन नसक्ने धारणा राखेका थिए । महेश बर्तौलासहितका केही नेताले नेतृत्वलाई मात्र दोष दिनेभन्दा कार्यशैली फेर्नुपर्नेमा जोड दिए ।
उक्त भेलापछि ओलीले आफूनिकट केही केन्द्रीय सदस्यसहितका नेतालाई निवास गुन्डुमा बोलाएका थिए । उनले आफूले सधैँ एकतामा जोड दिएको र त्यसको विकल्प नरहेको बताए । साथै, उनले पार्टी फुटोस् भन्नेसँग सचेत हुनुपर्ने धारणा राखे ।
“पार्टी एकताको विकल्प छैन । एमाले कमजोर भएको हेर्ने, फुट्दियोस् भन्ने चाहने मान्छे छन्, त्यसमा हामी सचेत हुनुपर्छ,” ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । ओलीले ०५४ सालको पार्टी विभाजन, ०७४ पछिको एकता र पार्टी छोड्ने प्रसंग सुनाएका थिए । वर्तमान अवस्थामा पनि पार्टी विभाजन होस् भन्ने कतिपयको सोच रहेको उनले बताएका नेताहरूको भनाइ छ ।