काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित
२ असार काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनि मतका साथ पारित भएको छ । सोमबार कार्यवाहक नगरप्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १९औँ अधिवेशनले ध्वनि मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । आइतबार बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति तथा कार्यक्रम पेस गरेकी थिइन् ।
नीति तथा कार्यक्रममा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ । यस वर्षको नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित क्षेत्र समेटिएका छन् ।
सोमबार पारित भएको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगरसभाको तेस्रो बैठकमा पेस हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ । उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्दै आज नगर सभा सदस्यहरूले सुझाव र संशोधन प्रस्ताव राखेका थिए । उनीहरूले पूर्वाधार विकास, सामाजिक विकास, विपद् व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहोर व्यवस्थापन प्रणालीको विकास कार्यक्रमको निरन्तरतालगायत विषयमा धारणा राखेका थिए ।